Saturday, September 5, 2009

जतनले टालेका परिचय

दैनिकी जोहो गर्नको लागि श्रम बेच्यो, पसिना बगायो, रगतको मुल्य केही मात्रमा भए पनि घटायो अनि फर्कियो बासस्थान। दिनभरी मनमा अनेकौ झोका र हुरी पतालिन्छ। कहिले सागरको गहिराइमा पुरायो कहिले पहाडको तुप्पो त कहिले फेदिमा। मन न हो रोकिने होइन बहिरहन्छ जसरी प्रकृतिका नियमहरु युगौ देखी युग सम्म चलिरहेका छन। जब मन बरालिँदै पहाडका खोल्सा खाल्सीमा अड्किन पुग्छ अनयासै हतासिन्छ र निसासिन्छ। लाग्छ अब मेरो मन यही खोल्सामा नै तुरुलुंग कुभिन्डो झै झुन्डिने भयो। झसँग हुन्छु र यसो तानतुन गरेर फाटेको मनलाई जतनले सिलाउछु। तर जतनले सिलाएको मन अजम्बरी रहिरहने त होइन। आज साँझ पर्‍यो भोली मिर्मिरेमै फेरी च्यातिएको हुन्छ। फेरी उही तानतुन गर्‍यो र सिलायो यस्तै भएको छ मनको दैनिकी।

कुरो यस्तै १४ बर्ष पहिलेको हुनुपर्छ। अनकन्टार तारे भीरको तल फेदमा सानो तर फुङ उडेको गाउमा केही अपरचित तर लवाइखवाइ, भेषभुषा र बोलिब्यबहारको उतारचढाब ठ्याकै मिल्दोजुल्दा एक हुल छिरे। रङ खुइलिएको त्यो गाउ झन प्रकृतिले पनि काचुली फेर्न नपाएको मौसम। चैत बैसाखको तन्तलापुर घाम, आकाशमा बादलको छिटा पनि नदेखिने समय। भोकमरीको उपहार नै पाएको जस्तै त्यो तारेभिरको खाल्डो। एकाध घर बाहेक अरुको अन्नबालीको भकारी रित्तिसकेको नै हुन्छ फागुनतिरै ।

तैपनी दिलका धनी छन् मनका फरासिला छन् ती गाउका बासिन्दा। आफु भोको पेटमा पटुकी कसेर पनि पाहुनालाई सकी नसकी अैचो पैचो गरेर खस्रा मसिना जे जस्तो हुन्छ सेवा गरेर मुस्कान बाँड्छन। नयाँ अनुहार कोही गाउमा आइपुगे छरछिमेकमा साउती चल्छ। हेर त फलानोको घरमा फलानो गाउबाट पाहुना आएका छन। लौ है सकेको स्वागत गर केही नभए पनि एक बचन मिठो बोल, गएर भेटघाट गर यस्तै कुरा एकले अर्को लाई अर्कोले झन अर्कोलाई गर्दा क्षणभरमै एक कान दुई कान हुँदा गाउभरी पुगिसक्छ न कर्ड्लेसको जरुरत न मोबाइल। बिना कुनै संचारको साधन सबैको कानमा कस्को घरमा अनि को पाहुना आइपुगे झ्यामझुम्मै थाहा हुन्छ। कुनै 'थाहा' आन्दोलनको जरुरतै पर्दैन।

भर्खरै उडुँ कि बुडुँ भएको थियो आफ्नो जवानी। ती हुल छिरेको पत्तो पाएं मैले पनि मेरै दुंवाली या यसो भनौ न जिग्री दोस बाट। मेरा अरु लगौतिया यार पनि नभएका त होइनन तर ति जिग्री दोस चाही हुनुकै नजिक थिए केही कुरा आयो कि स्याटेलाइट भन्दा पनि छिटो खबर गर्न सक्ने। लौ जाऔ त हेर्न को रहेछन? कहाँ बाट हाम्रो अनकन्टार खाल्डोमा पदार्पण गरे? बुझौ। बुझ्नु के थियो र बस उनिहरुको अनुहार देखे संसारै जितियो कि झै लाग्ने अनि परिवारका अरु सदस्यहरु सँग गफ दिने बा मैले त यो देखे त्यो यस्तो थियो उसको नाक थेप्चो, अर्कोको अनुहार गोरो,डल्लो, अनि अर्को त सिमल झै सुलुक्क अग्लो झन अर्को ह्याँमानको पाखुरा भा'को........ । गुडी कुरो के हो बुझ्ने बेला त भएको थिएन तैपनी यसो कता कता बुझे जस्तै लाग्ने। सुनेर दिमागमा केरकार गर्न नसके पनि सुनेको त हुँ भन्ने लाग्ने।

ती हुलको पाहुना सत्कार सकिए लगत्तै हाम्रै गाउका प्राथमिक विधालयका प्र. अ. दाइले कुराको पोयो खोले। उत्सुक मन थियो गाउका छरछिमेक भएका जती सबै जम्मा भएका थिए। कुराको उकेरा लाउदै हेडमास्टर दाइले यी पाहुनाहरु हाम्रै जातिको खोजिनिती गर्न र हाम्रो जातिको बारेमा बुझाउन आएका हुन त्यसैले पाहुनाहरु यसै बिषयमा छलफल गर्नु हुनेछ। निकै लामो गन्थनमन्थन गरे छन्त्याल जातिको बारेमा। छन्त्याल जाती लोप हुन लाग्यो। हाम्रो संस्कार, संस्क्रिती हराउन लाग्यो। हाम्रा पितापुर्खाका परिचय खसोखस खत्तम हुन लाग्यो। लौ हामी छन्त्यालहरु नै नजागी त हुँदैन बा नत्र आउँदा दिनमा हामी को हौ? हाम्रो परिचय के हो? पूर्ण रुपले नामेट हुनेछ। हो त सबैले होमा हो मिलाए हामी पनि के कम? चन्चले मन न हो शुरु गरयौ हल्लाखल्ला गर्न, लौ छन्त्याल त यस्तो पो हो रे हाम्रो जातिले पहाड खोपेर हिरा निकाल्न सक्थे रे। माटो सुंघेर खानि पत्ता लगाउन सक्थे रे ,.... उ जमानामा तामा खानिका धनी छन्त्याल, बिना कुनै उपकरण माटो सुँघेको भरमा खानि पत्ता लगाउन सक्ने क्षमता, कुनै बैज्ञानीक उपकरण बिना पहाड भित्र हजारौ मिटर गहिराइमा छिना र हठौंदाको भरमा तामा निकाल्न सक्ने हिम्मत र साहस भएका खानी पेसाका माहिर जाती छन्त्याल आज २१औ सताब्दीमा आइपुग्दा आफ्नै परिचय दिन पनि शिला खोज्नु पर्ने भएको छ।

नजिकका मगर गाउमा मेला भर्न जाँदा ठिटिहरु "मुसा" भन्दै मायालु पारामा ठट्टा गर्थे आज दिन ढल्किदै जाँदा पो थाहा भएको छ छन्त्याललाई "मुसा" किन भनेको होला भनेर। आखिर हाम्रा पुर्खाले गरेको साहसिक क्षमताको अर्को उपनाम पो रहेछ। उहिलेका दिनमा मलाई "मुसा" भनेर गाली गर्दा कम्ती रीस त उठ्दैन थियो तर अहिले भने यसो च्याटमा मेरा मगर मित्रहरुले "मुसा" भन्दै ठट्टा गर्दा पनि गौरब लाग्छ। मेरो पुर्खाको परिचय छिमेकिले पनि भुलेका छैनन "मुसा" नै सही। खयर दिनैदिन जतनले सिउनु पर्ने यो मनमा यिनै रमाइला क्षणले तालतुल गरेकै छ र त जिउन सिक्दैछु आफ्नै परिचयको परिक्षामा।

6 comments:

  1. its great article abuot chhantyal's memory. i like this blog.

    ReplyDelete
  2. धन्यवाद भूमिका छन्त्याललाई। हजुर आउँदा जाँदा माया लाउदै गर्नु होला तपाईंको माया ससम्मान सुरुक्षित राखिने छ।

    ReplyDelete
  3. When i was searching the chhantyal in google found your blog. Very nice article.i really proud of you S. B. daju and thank you very much.

    ReplyDelete
  4. Thankx Partibha sis for your support.

    ReplyDelete
  5. dhanyebad daju ramro lekh lekhnu bhayeko ma maila google ma hamro chhantyal ko search garda tapai ko yo blog paye khosi lagyo derai ramro lekh lekhnu bhayeko rahecha hamro chhantyal ko barema ho daju hamro chhantyal jati lop hune abastah ma cha sayed bhanne nai ho bhane 75% manchae haru lai hamro jat ko barema thaha chaina hola kunai naulo manche sanga bhet bhayo bhane parichaye kai karam ma jat ko kura garda chhantyal ho bhanyo bhane ultai hami mathi qustion garne gardachan yo chhantyal kun jat ho sayed teti bela kati naramailo huncha hola tesaile tapai haru jasto educated manche le hamro etihas khojdai ti asichit manche haru ho hamro bare ma thaha chaina sabai lai janachetana badhaunu tapai haru ko kartbaye ho huna ta dukha ko kura garda ma soyem chhantyal bhayera pani hamrai chhantyal bhasa bolna audaina ok bye. pls saknu huncha bhane e-mail garnu hola ( chh_s2002@yahoo.com) ma

    ReplyDelete
  6. धन्यबाद हिराजी, हो तपाईंले महसुस गरेका कुराहरु एकदमै सत्य हुन् । "छन्त्याल" लोपप्राय जाति नै हो र हामी सबै मिलेर खोजी गरेनौ भने पुरै लोप नै हुने संभावनालाई नकार्न पनि सकिदैन । छन्त्याल भनेर चिनिने सबैको जिम्मेवारी पनि हो । न हामी वास्तविक जनजाति हुन पाएका छौ न त आदिवासी नै । प्रमाणित इतिहास हामी सँग छैन । दन्त्य कथाको सहारामा परिचय दिनु परेको छ । यी दु:खद कुराहरुलाई तपाईंले जस्तै पीडाको रुपमा मैले पनि भोगेर ईन्टरनेटको दुनियाँमा छन्त्याल खोज्न शुरु गरेको थिए र खोजी जारी छ । तपाईं जस्तै म पनि छन्त्याल भाषा बोल्न सक्नेमा परिन र त्यस्तो बिधी डिग्री र डिप्लोमाको ताज भिरेको मान्छे पनि होइन । कौटुहलता जाग्यो, पिडाले थिच्यो र मनले मानेन अनि सानो प्रयास मात्रै हो यो ।

    ReplyDelete