Thursday, February 3, 2011

रन्थनिँदै मञ्चमा पुगेर कोमल ओलीको गलामा


प्रवासको बसाइमा जहाँकहीँ रमाइला, मीठा कुराहरूको अनुभव गर्न पाइँदैन । अधिकांश तीतो र टर्रो । आफ्नै देशमा हुँदा झैँ १० बजे जानै पर्ने कार्यक्रममा ३ बजे उपस्थित भए पनि ‘नो प्रोब्लम’ भन्न पाइँदैन । दिइएको समय भन्दा ५ मिनेट मात्रै ढिला भए पाएको मौका नै गुमाउनु पर्छ । या अर्को पालोको लागि हप्तौं कुर्नु पर्छ । वातावरण जेसुकै होस् तर जुन देशमा जन्मियो त्यो देशको पछुवापन पराइको ठाउँमा नक्कल नगरे नेपाली नै भइँदैन । अरूलाई मात्रै के आरोप लगाउनु ! नक्कल गर्न आजकाल आफैँपनि निकै सिपालु भएको छु । किनकी मैले आफ्नो नेपालीपन देखाउनु छ । अन्यथा नागरिकताबाट नेपाली भन्ने कुरा नै हट्नेछ ।

धेरै पटक निर्धारित समयमा पुग्दा एकलकाँटे र वैरागी काइँलो बन्नु परेको छ । देशबाट हाम्रा माननीय, ख्याति प्राप्त, नेता … आउनु हुने भनेको कार्यक्रममा निर्धारित समय भन्दा ३ घण्टा पछि पुगे बल्ल कार्यक्रम सुरु हुने मेसो चल्छ । त्यसैले पोइल जान नपाकी, राता खुर्सानी खाँदै र खुवाउँदै पाका भ’का जिरे खुर्सानीको कार्यक्रममा पनि संचारकर्मी मित्रले रमझम शुरु भयो भन्ने सन्देश आएपछि पुग्दा बल्ल तातिँदै थियो हल ।

आयोजक नेपालिज डेमोक्रेटिक फोरम (एन डि एफ) । व्यवस्थापक, स्वयंसेवक र सहयोगीपनि एन डि एफ सँग सम्बन्धितनै हुने भए । पोइल जान नपाएर आत्तिएकी कोमल ओली मञ्चमा मात्तिदैं जाँदा २५० अटाउन मिल्ने हल ३५० जनाको भीडले भित्रबाट शौचालय पुग्नु पर्‍यो भने पहलमान नै हुनुपर्ने अवस्था थियो । भुराभुरीहरू पाकेका गोलभेँडा सरह । असिना पसिना नानीका आमाहरू । बाहिर निक्लौं मुन्द्रेको व्यङ्ग्य र ओलीको उत्ताउला गीतको रौनक छुट्ने । नजाउँ भने अधिक भीडले नानीहरू उसिनिएर आपत् । काखमा नानी लिएर उभिनेको हालत झन् बयान गर्नु नै परेन ।

युरोपको राजधानी देश । पाखुरी बजारेर खान रहर या बाध्यताले आएका हामी नेपाली । सिकौं भने यो देशबाट सिक्न सकिने ठेलीका ठेली छन् । तर हाम्रो ध्यान त्यतातिर कहिले जाने ? त्यो कुरा उत्तानो परेका शिवजीलाई नै थाहा होला । कि त उनैसँग वर माग्ने कोमल ओलीलाई । प्राविधिक कारणवश केही त्रुटि भएर कार्यक्रम बिथोलियो भने क्षमता भन्दा बढी हुलेको हल भित्र कस्तो खाले दुर्घटना निम्तिएला भन्ने चेत आयोजकलाई भएन । या चेत भएर पनि अचेत भएको नाटक गरिएको हो ? बुझ्न सकिएन । दुर्घटना निम्ती हाल्यो भने जिम्मेवार को ?

बेल्जियमको नियम कानुन अनुसार क्षमता भन्दा बढी दर्शक एउटै हलमा हुलेर कथं कदाचित् केही परिहाले डामिने को ? भीडले गर्दा हलको तापक्रम निश्चित रूपमा बढ्छ । तर तातो बनाइ राख्ने यन्त्र अधिक गतिमा चलिराखेकै थिए । मानौं आयोजकको काम भित्तामा भैँसी जत्रा अक्षरले लेखिनु मात्रै हो । दर्शक भनेका हल भित्र म: म झैँ उसिनिन आएका दुहुनो भैँसी हुन् । टिकट बेच्ने यूरो गन्दै मख्ख ।

मनोरन्जनात्मक कार्यक्रममा कान तातो बनाउनेको व्यवस्था हुने नै भयो । व्यवस्था नै नभएपनि पानी भन्दा सस्तो बियर जतासुकै उपलब्ध छ । उपलब्ध भएको कुरा सिमा हुन्जेल ठिकै नै हो । तर आफैँले नचिने रंग देखाइहाल्ने । भित्र मुन्द्रेले पुराण लाउँदै गर्दा भित्र बस्ने ठाउँ नपाएर बाहिर रहेका पहलमानहरू भने पाखुरी सुर्का सुर्कीमा व्यस्त । टाइसनको दुरुस्तै फोटोकपी । क्या बात नेपाली टाइसन ! बेल्जियममा पनि ? देशको इज्जत बेल्जियमको बेर्खेम शहरमा पनि जीवित रहेछ ।

रौनक र मनोरञ्जन दिनु रंगिला कलाकारको जिम्मा हो । महिनौं हड्डी घोटेर एक दिन आफ्नै देशका कलाकारहरू सँगै दिल खोलेर हाँस्न, नाच्न र गाउन मन सबैमा हुन्छ । यो भावनालाई कलाकारहरूले राम्ररी बुझेका रहेछन् । आफ्नो क्षमताले भ्याएसम्म दर्शकलाई आफ्नो बनाए ओली र जितु नेपाल ‘मुन्द्रे’ ले । पसिनाको धारा बगाउँदै दर्शक सँगै नाचे । गाए । हँसाए ।

दिल खोलेर हाँस्ने र नाच्नेको भीडमा थिए टि. एस. कामरेड पनि । चिटिक्क भादगाउँले टोपीमा सजिँदै एन डि एफको कुनै पनि कार्यक्रम छुटाउँदैनन् । एकाध वर्ष सोही संगठनको अध्यक्ष पनि । पदको लोभले एन डि एफ नै फुटाउन खोज्नेहरुलाई तह लगाउँदै संगठन बचाउन दिलो ज्यान दिएका हुन् भनेर प्रशंसा गर्नेको कमी पनि छैन । पदबाट नियमसंगत तवरले नयाँ पुस्तालाई हस्तान्तरण गरेको एक वर्ष पनि पुगेको छैन होला । आयोजक एन डि एफको नाटक मञ्चनमा बिचरा कामरेडको नाम समेत अत्तो पत्तो भएन ।

कार्यक्रम लगभग सकिन लाग्दा कलाकारहरूलाई खादा ओढाएर सम्मान गर्नुपर्ने नाटक थियो । उद्घोषकले कलाकारहरूलाई खादा ओढाइदिन के अनुरोध गरेका थिए मञ्च पुरै भरियो । कलाकारको घाँटीमा कुन्नि २,३ खादा झुन्डिए होलान् । अरू सबै आफैं एन डि एफका पहलमानहरू भनाउँदाले भिरे । भिर्ने पहलमानमा वर्तमान एन डि एफ अध्यक्ष पनि सामेल भए । खै कुन्नि कहाँ बाट माइक हात परेछ । एकदमै अभद्र तवरले जाँडको तालमा प्रस्तुत भए । “एनि वे” भन्दा अरू शब्द उनको प्रस्तुतिमा सुनिएन । छेवैमा उभिएकी अधबैँसे दिदीले आफ्ना साथीलाई भन्दै थिइन् -ए बा नि ! .. लाई भन्दा देख्नेलाई लाज पो । के रमिता गरेका हुन् यस्तो ? हलका त्यत्रा दर्शकहरू यसै ट्वाँ परेर हेरिराखेका थिए । ट्वाँ पर्नेहरुकै भीडमा नाम नबोलाइदिँदा कामरेडलाई पनि झोक चलेछ क्यार । रन्थनिँदै मञ्चमा पुगेर ओलीको गलामा खादा भिराइदिए । ओलीले उनको परिचय टि. एस. कामरेड रे भन्नु पर्‍यो । उद्घोषण गर्नेले नचिनेका पनि होइनन् । तर योगदानको कदर गर्नै सक्दैनन् या चाहँदैनन् । बल्खुको दरबारमा नै आत्महत्या गर्नु पर्ने बाध्यतामा टि. एस. कामरेडहरुको पालो पनि धेरै कुर्नु नपर्ला । बिचरा टि. एस. कामरेड !