Tuesday, July 7, 2009

लुखास्तसँग १३ बर्षपछी प्रत्यक्ष कार्यक्रममा भेट

अन्तरकृया प्रकाशनका 'नबयुबा' मासिक पत्रीकाको लुखास्त शिर्षकमा ब्यङग्यपूर्ण लेख पढ्ने गरेको थिए १३, १४ बर्ष पहिले र थिए उनी चर्चित हास्यब्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले उनै हास्यब्यङ्ग्य क्षेत्रमा ख्याती कमाएका कलाकारको प्रत्यक्ष कला हेर्ने मौका जुराइदियो बेल्जियमको नेपाली लोकतान्त्रिक मन्चले। साथमा थिए चर्चित गायक सुगम पोखरेल र डिजे राजु।

नेपालीको नानी देखी लागेको बानी निर्धारित समयमा कार्यक्रम होला भन्नु आकाशको फल जस्तै। निर्धारित समय थियो जुलाई ५ तारिख दिनको ३ बजे तर त्यही समयमा स्वयमसेबक मित्रहरु हतार हतार मन्चमा टूल ताङ्दै थिए। प्रतिक्षारत दर्शकले ४ बजे पछी मात्रै कार्यक्रम शुरु भएको महसुश गर्नुपर्‍यो। शायद आयोजकले ढिला भएको महशुस गरेरै होला औपचारिक कार्यक्रम (आसन ग्रहण, स्वागत मन्तब्य , उद्घोषण) त्यती लामो गरेनन।एन. डि . एफ. बेल्जियमका तुलसीनाथ सुबेदीको अद्यक्षता र नेपाली राजदुताबास, बेल्जियमका महामहिम राजदूत प्रमेश कुमार हमालको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरिएको थियो। प्रमुख अतिथिको रुपमा नेपालीहरुले सबै एक भएर आफ्नो कला र सस्कृतिको जगेर्ना गर्नु पर्छ भन्दै गर्दा क्यामरा क्लिक क्लिक गर्दै म भने उहाको गेटअप हेर्दै थिए। यूरोपमा यस्ता कार्यक्रममा मैले पहिले बिशेष रुपमा बोल्दै गर्ने ब्यक्तीहरुले रुद्रघन्टी पनि सुन्नियो कि झै गरी टाइ बांधेर गजधुम्म पर्दै बोलेको धेरै पटक देखेको हुँ र नेपाली राजनीतिक क्षेत्रका नेता महासयहरुको त झन कुरै नगरौ। तर फरक शैली र सादा पोशाकमा नेपालीहरु बिच सर्बसाधारण कै रुपमा छोटो र मिठो भावनात्मक रुपले प्रस्तुत हुँदै समयको ख्याल गर्दै आफ्नो मन्तब्य दिएको देखेको यो मेरो पहिलो अनुभब हो। छोटो तर सबै कुरा समेट्ने गरी बोल्दा हाम्रा नेताहरुले जनताले कुरै बुझ्दैनन झै गरी कानै फत्तिने गरी बोलेका हुन्छन, कसो राजदुत महोदयले झै छोटो तर मिठो तथा समयको ख्याल गरेर बोल्ने गरे देश अलिकती उभो लाग्दो हो कि? यसो भनौ न कुरा भन्दा काम धेरै गरे आउँदा पुस्ताले सडकमा टायर बाल्न छोडेर आफ्नो इलमलाई बढी महत्व दिदै देशलाई राहत हुने बाटो पनि पहिलिने थियो कि?

मेरो अनुमानमा लगभग २५० भन्दा बढी नै नेपालीहरुको जमघट थियो बेल्जियमका बिभिन्न शहरबाट आफ्नो दु:खलाई थाँती राखेर कार्यक्रम हेर्न आउने उत्सुक आँखा र दिल खोलेर हांस्ने मनहरु। कार्यक्रमको सुरुवातमा मिठो स्वरका धनी सुगमको गायन बाट सुरु भएको थियो तर मेरो लागि भने पहिलो पटक सुनेको स्वर अनि गीत। लगत्तै पछी बेल्जियमका स्थानिय कलाकार रिजे गुरुङ को पुतली नाच पनि दर्शकले निकै रमाइलो मानेर हरे।

जब मनोज गजुरेल आउँदैछन भन्ने संकेत मिल्यो तब दर्शकहरुका आँखा मन्चमा नै अडिए। हाम्रा तात्कालिन तथा गणतन्त्रका प्रथम प्रधानमन्त्री प्रचण्डको क्यारिकेचर गर्दै दर्शकमाझ मनोज देखा परे तब दर्शकदिर्घाबाट हलै गुन्जिने ताली र साथमा खादा पनि। अनि सुरु भयो उनको अभिनय। प्रत्येक वाक्य पछी हलमा हाँसो नगुन्जेको शायदै होला। अभिनयमा पत्रकारले सोधेको जवाफ दिने बेला कसैले पनि मन थामेर नहाँसी बस्न सकेनन। प्रश्नोत्तरमा दर्शकहरुलाई हसाउदै मार्मिक रुपले देशमा भएका राजनैतीक गन्जागोल, जातिबाद ,बिभिन्न भाषा भाषीहरु बिच हुनसक्ने कटुता, धार्मिक दंगा र तँ मधेशी म पहाडी भन्ने अहमताको खाडल खनिदा हुने भयानक परिणाम बारे अती नै तिखो ब्यङग्य प्रस्तुत गरेका थिए। र सम्पूर्ण नेपालीहरु यस्ता खतराबाट पूर्ण सचेत हुनु पर्ने 'म' भन्दा पनि 'हामी' भन्ने भावनामा बाँधिनु पर्ने आग्रह गरेका थिए आफ्ना कला मार्फत।

सांस्कृतिक बिकृति र लोग्ने श्रीमती बिच हुने झैझगडा र नेपाली दुर संचार पनि तिखो ब्यङ्यबाण बाट बचेँनन। दुर संचारले (मोबाइल) प्रयोगकर्तालाई दिएको दु:ख र सस्थानले गरेको लापर्बाहीको बारेमा पनि निकै पेचिलो प्रस्तुती गरेका थिए। त्यस्पछी राजुको डिजेमा युवायुबतीहरु दिल खोलेर नाचेका थिए। कलाकारहरुलाई आयोजकको तर्फ बाट खादा ओदाइ सम्मान गरीएको थियो भने कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने संघ सस्था तथा ब्यत्तिहरुलाई कलाकारहरुको हात बाट खादा ओदाइ सम्मान गरेका थिए। तर आँफैले भने निस्चित समयसम्म रहनु पर्ने र पुरै कार्यक्रम नहेरी बाहिरिनु पर्दा शुरु हुँदाको एक घण्टा ढिलालाई नरमाइलो मान्दै बाटो लागियो।

Tuesday, June 30, 2009

अग्रिम शुभकामना!

सँधै हत्या, हिँसा , अपहरण , लुतपातका फोटो र समाचारहरु हेर्दा हेर्दा दिक्क भएको बेला आज नागरिक न्युजमा छापिएको यो फोटोले केही मात्रामा त्राण दियो। नेपाल भन्ने देशको नाम अग्रिम पङ्तिमा राखेर आउनु होला। क्रिकेट जगतका यि किशोरीहरुलाई शुभकामना!!!!

Thursday, June 11, 2009

याहूका मित्रलाई पत्रचार

प्रिय मित्र ढाकमायाजी,
समयले नेटो काटेको कसैलाई थाहा हुँदैन, बगिरहन्छ, चलिरहन्छ र उडिरहन्छ आफ्नै नियममा। हामी फगत त्यही नियमको बन्दी हौ। न कसैले रोक्न सक्ने न त कसैको ईशारामा चल्ने, गतिमान समयको पछी पछी हामी एक यात्री। यात्रा पनि कस्तो यात्रा जती हिंडे पनि गन्तब्य झन टाढा हुने। तर हिंडेर कहिल्यै नथाकिने।
हेर्नुस् न हामी समयको पछी दौडिदा दौडिदै हाम्रो याहूको मित्रता ५ बर्ष पार गरिसकेछ। थोरै ठट्टा, थोरै सत्यता अलिकती बैसालु गफ धेरै रमाइला क्षण अनी केही पर्खाइ कहिले कतै अनुरोध त कहिले आदर्शका कुराहरु। हो यस्तै थिए हाम्रा याहूमा मित्रताको पुल। जे थिए जे गरियो त्यो भोली नहुन पनि सक्ला र अझै दुबो सरी फैलिन पनि सक्ला अनुमान मात्रै है । तर एउटा कुरा यो याहू नामको सस्था र सन्जाललाई म भने धन्यवाद नै दिन्छु। किन भन्नुस् न ? तपाईं जस्तो मित्र जुराइदिएकोले।
कता कता केही छुटे जस्तो, ठ्याकै यसो त नभनु तर यात्रीको बस छुटे झै। समय पनि कती कमाल छ यो यात्रुबाहक बसलाई रोक्न खोज्दा खोज्दै भागीहाल्यो मेरो के लाग्नु? सर्बशक्तिमान न हो जितिहाल्यो। तैपनी म पनि कहाँ हरुवा हुँ र? नथाकेरै हिंड्ने यात्री न हुँ कतै भेटी पो हाल्छु कि? कोशीश जारी छ ।

हजुर तपाईंका सम्झनाका कोसेली स्वरुप अफ्लाइन समाचार पाएको थिए तर कोहिलाई नपर्खिने समयले यसो एक छिन थकाई मारु भनेको टाप थोकीसकेछ। म भने सधैं पछीको पछी। यस्पाली अलिकती बढी नै ब्यस्त भैयो। याहूमा खटर पटर गर्ने मौका जुरेन। त्यसैले तपाईंको जवाफ अली ढिला दिन पर्‍यो। ढिलाराम न परे तर खुशी साथ स्विकारी दिनु होला है त। आरमको कुरा पनि कती गर्नु जती गरे पनि उही हो आत्मारामको आराम भने जस्तै। प्रबासीको ताल न हो नोकरी नगरि ठग्न नमिल्ने तब न मार खायो यो बदमाशले। लु जा यसो अतिरिक्त केही सिकौ भनेको सेन्टीफ्ल्याट मान्छे त। जे होस् सकेको प्रगती गर्दै छु यती नै हो नयाँ खबर। अनी तपाईंको बारेमा लेख्नुस् है सकेको। कर त के गरौ र हैन आफ्नो मित्रलाई पनि धेरै पोलिस किन गर्ने? बस् सकेको लेख्दै राख्नु होला। राजनैतीक घटनाका बारेमा अन्लाईन न्युज काफी छन तर अरु रमाइला गफ दिन नभुल्नु होला नत्र यात्रामा थकाई धेरै हुन बेर लाग्दैन। ओह ! म बिसोरीले सोधनी गर्नै झन्डै भुलेको, पढाई कहाँ पुग्दै छ? जारी राख्नु होला है। बिच बातैमा पुर्णबिराम लाउने होइन नि फेरी। मलाई हेर्नुस् न हिरो पुत्र सँगै झोला बोकी स्कुल लुखुर लुखुर। अँ तपाईंको जन्ती जाने बेलामा भने मलाई अनिबार्य बोलावत हुनुपर्छ। तपाईंको जन्तीको फोटोग्राफी मैले नै गर्ने अधिकार चाँही सुरुक्षित हुनुपर्छ । मैले पहिले नै बूकिङ गरेको छु ल।
ल त मैसाब (लास्टाँ उही त हो) बिदा पाउ। फेरी अर्को पटक भेट्ने बाचा गर्दै।
उही छट्टुराम छन्त्याल
बेल्जियम
(किन किन दिन धल्किन्छ थाहा नै नपाइ, साँझ पर्छ उज्यालोलाई बिदाइ गर्दै र भोलीको सुनौलो बिहानीको स्वागतार्थ..... सम्झनामा मेरो सबै भन्दा पुरानो र असल याहू मित्र ढाकमाया जीलाई यी केही हरफ मनका दायरीबाट)

Saturday, April 4, 2009

फोटो फिचर

भूगोलमा देशका नाम फरक फरक भए पनि विश्व एउटै हो। रङ फरक भए पनि मानब एकै, दु:खको बेला आशु सबैलाई र खुशीको बेला हासो पनि सबैको लागि बराबर। दिन र रात सबै ठाउमा हुन्छ फरक यती मात्रै समयको। कुनै ठाउँमा बिहानी हुँदा कुनैमा साझ त कही दिउसो हुँदा कही मध्यरात तैपनी प्रक्रितीले कहिल्यै पनि तेरोमेरो नभनीकन बराबरी माया दिएको छ। कुरो फरक मानबले आफ्नो स्वार्थको लागि सोच्ने तौर तरिका मात्रै नै हो। नेपालमा हुँदा देखेको डाडाकाडाको सुर्यास्त यहाँ औंलाले छुन सकिने पो हो कि जस्तो लाग्ने तर अस्ताउने नियम एकै। फोटोग्राफीले मोहनी लगाउदा क्यामरामा कैद यो ९७,२८ मिटर अग्लो टावरमा सुर्यास्तको झलक।

Tuesday, January 6, 2009

छन्त्याल चौतारीमा नरु भाईलाई जवाफ

नमस्ते नरु भाई, यहा अरु दुखको कुरा पनि छ हामी छन्त्याल हरुको पहिचानमा। मैले गूगल को सर्चमा आंखा दौदाउदा प्राय सबै आदिबासी जनजातिहरुको विकिपिदियामा आफ्नै परिचय सहितको फेहरिस्त साथै पुरै जानकारी पाएको छु तर छन्त्याल को बारेमा भने यो लागू भएको छैन किन? दुख का साथ नै भन्नु पर्ला हाम्रा अग्रजहरुले तेसो गर्न तीर ध्यान नै दिएका छैनन यो पनि एउटा परिचय हराउनु को कारण हो। हाम्रा आदरणीय दिल बहादुर छन्त्याल को मेहनत लाई पछिल्ला पुस्ताले गोल्तोमल नै बनाएको हो की जस्तो पनि लागेको छ। फगत एउटा कमिटी गठन गर्नु अनि बांकी काम भोलिलाई यो अर्को परिचय हराउनु को करण। शिक्षा को अर्को पातो त छदै छ आज सम्म छन्त्याल नामको डॉ. छन्त्याल सुनेको छैन बरु बिदेसियेको/लाहुरे छन्त्याल को परिचय चाहि छ। अनि हाम्रो छन्त्याल दीदी बहिनी हरुको लगानी सुन्य छ फेसबुकमा मुस्किल्ले १० जनाको नाम भेट्न सकिन्छ। गुरुङ, थकाली अनी अरु जनजातीको हेर्नुहुन्छ जुनसुकै ठाउमा पनि क्रियासिल जहा पनि तयार। हाम्रो छन्त्याल दीदी बहिनीहरु किन यसरी हराएका? फेसबुक मा उपस्थित संपूर्ण छन्त्याल मित्रहरु मा मेरो सबिनय अनुरोध हामी पनि कोसिस गरौ आफ्नो परिचय नागुमाऊ एक ले अर्को संग हातेमालो गरौ। धन्यवाद