Thursday, March 3, 2011

मेरो सम्झनाका पलहरुमा "पौरखी छन्त्याल"

बिबिध कारणले बिदेशीनु परे पनि आफु जन्मिएको ठाउँ भुल्ने कुरा हुँदै हुँदैन। हरेक पलहरु ताजा छन। कर्सुङ मात्रै कहाँ हो र ? थाङ्नाको फुटबल खेल्दा खुट्टाको नङ्हरु गनी गनी उप्किएका । भाले जुधाइ खेल्दा भुइमा पछारिएर कुहिनाका छाला खुइलिदा रुदै घर पुगेका । काँक्रो चोरेर खादा सिस्नु र पानीको सजाय पाएका । नदीमा पौडी खेलेपछी पाहा झै ढुङ्गामा सुतेका, दाउरा घास गर्न जाँदा खुङ्खानिको साथीलाई भा.... लै भन्दै रुख चढेर चिच्चाएको । भारिले जितेर गुल्तिदै तीन बल्द्याङ खाएको, पात बजाउदै जङल र पर्म गएको । क्लासमा चक चक गरेर कानको जाली बन्द हुने गरी थप्पड खाएको । साँच्ची कति सताइयो होला है बाउआमा र छरछिमेकीहरुलाई ? अहो! न त्यो जिन्दगी कति रमाइलो सम्झदा फेरी त्यही बालक हुन पाए...


फेसबुकमा खुङखानीको तस्वीर भेटाउदा मेरो मनमा पुराना पलहरु छाँयाले झै पछ्याइ रहेका छन् । त्यो खहरे पैरो बाबै!
बर्षा याम लाग्यो कि गाउँको उठिबास । मुटु नै कमाउने चत्याङ, भल, बाढी , हिलो र सर्पको तोकाइको डर। रोधी जाँदा सिस्नुको घारीमा गुल्तिने हो कि भन्ने चिन्ता। भुस्याहा कुकुरहरुले बिताउलान् कि? भन्ने बिगबिगी । । दियालो र चोयाको सुकेका भाङ जोर् जाम्को चिन्ता । देउरालीमा फूलपाती चढाउदै टाउको नदुखाइदेउ, राम्रा राम्रा सोल्तिनी सँग भेट गराइदेउ भनी गरेको प्रथाना । उकाली कात्दा यसै त धुम्धाम त्यसै माथि पानी पर्दा घुम्ले पानी बोकेर थप् भार बोकाएको सास्ती । आबुइ नि आङ नै सिरिङ्ग हुने गरी त्यो सिंगाने खर जुकाले गरेको आक्रमण ।


जब बर्षा यामले बिदा दिन्छ । फेरी अर्को रौनक । गाई, भैंसी र भेडाबाख्राका गोठ सार्नेको रन्को । मकै, आलु भित्र्याउनेको चतारो । गोरु जुधाईको रमिता अनि सँगै आउन लागेको दसैं तिहारको स्वागतको लागि घर लिपपोत । कमेरो र रातो माटोको खोजाइ । लाहुरे दाई हरुको पर्खाइ। जमरा र खसिको मासुको सरजाम । उही गुनिलो रुख खर्सुङ सँगै लाएको पिरती । पिङ बनाउन खर्सुङ घारिमा रात भरिको जंगल बास। कति रमाइलो खुशीका पलहरु ... संझनाको एेनामा ताजै छन । अहा! मेरो जिन्दगी ।


जिन्दगीले आज कोल्टो फेरेको छ..... पराइको देशमा खुन र पसिना बगाउनु, बिदेशी भनेर हेपिनु । रात र दिन नभनी अहोरात्र अर्कैको सेवामा खटिदा पनि जस नपाउनु । कहिलेकाँही थुक्क जिन्दगी भनी भन्न मन लाग्छ। देशले हामी आदिबासी जनतालाई चिन्ने कोशीसै गरेन । हाम्रो छन्त्याल जातिको अनौठो क्षमतालाई चिनेन या बित्यास पार्ने भए अब भनेर डराएका टाठाबाठा शासकले दबाउने निती लिए। कुनै बैज्ञानीक प्रबिधी बिना माटो सुघेको भरमा तामा खानी पत्ता लगाउन सक्ने । घन र छिनाको भरमा सिङो पहाड खोप्न सक्ने हाम्रो छन्त्याल पुर्खालाई देशले माया सम्मान गर्नुको सत्ता कुहिरोको काग बनायो। हाम्रो पुर्खालाई दबाउन भन्दा हौसला दिएर देशले छन्त्यालको पौरख चिनेको भए शायद हाम्रो देशमा पहाड भित्र नै रेल कुदेका हुन्थे अहिले । तर, अब यो कल्पना मात्रै सिमित हुन पुगेको छ । हामी छन्त्याल हरु आफ्नो हराएको कुहिरो भित्र कागलाई खोजी गर्न बाध्य छौ। तपाईं हामी जहाँ जस्तो सुकै अवस्था मा भए पनि हाम्रो पुर्खाको पौरखलाई सम्मान गर्न सिकौ। सम्पूर्ण छन्त्याल एक हुन हातेमालो गरौ। हामीले कोशीस गरेनौ भने हाम्रो परिचय खर्सुङको रुख सँगै बित्ने पक्का छ। जानेको, बुझेको कुरा बाड्न कन्जुस नगरौ । सबै कृयाशिल हुने कोशीस गरौ । जस्ले जहाँ जति सकिन्छ (आर्थिक, मानसिक तथा भौतिक) सहयोग गरौ । पाकाहरु भन्ने गर्छन् - एकले थुकी सुकी हजारले नदी।(फोटो स्रोत: फेसबुक)

सम्झनाको तरेलीमा जन्मथलो र प्रमेथियस

आफ्नै र आँफैको आँगन। च्याँ च्याँ गर्दै यही धुलोमा झरियो। बामे सर्दै यही ठाउँको माटोमा बल्ड्याङ खाइयो। सिंगान झार्दै
भाडाकुटी खेलियो यही ठाउँमा। बेहुला बेहुली हुँदै जन्ती त कति पटक गैइयो गैइयो । सिंगान पुछेर भोटो र कछाडमा माम्री पार्न सिके पछी काठको ह्यांमानको पाटि बोकेर ढुङे खरी धस्दै लागियो कपुरी क गर्न यही ठाउको पाठशालामा । आफु र आफु जत्रै फिस्तेहरु देखे पछी यती मन फुरुङ त भएको होइन त्यो कपुरी क गर्ने ठाउमा। तुना बाँध्न मिल्ने दौरा फन्नाउदै थाङ्नाको फूटबल खेलमा गनी नसक्नु पटक खुट्टाको नंङ सत्यानास पारीयो त्यही बुङबुङे धुलोमा। साहू बुढाको अमिलो चोरी गर्दा सिस्नुको झ्याङमा गुल्टेको बाबै क्या नमिठो पिरो त भएको थिएन।

अहो एउटा हिसाब मिलाउन नसकेर टेके सरको यती त मार खाएको होइन बाबै अहिले पनि आङै जिरिङ्ग हुन्छ। फलानो माने धिस्कानो भन्न नजानेर गङ्गे सरले सिस्नु पनि र लौराले पुरै हात भरी निलडाम हुने गरी हानेको सम्झिदा अहिले पनि किबोर्ड बाट हात फुत्त तानिएछ। अक्षर गोलो बनाएर लेख्न नसकेर छबिलाल हेड्सरले बुढी औंला र चोर औंलालाई जोडेर ओखर थिचे झै थिचिदिएको त झन अहिले जस्तो नै लाग्छ। सामाजिक शिक्षा पढाउदा त्यो नरे मोराले क्लासको अर्को लाई कागजको मत्याङ्रा बनाएर थोकेछ अनि यल्ले हो सर भनेर सुराकी लगाइदिदा लोके सरले १५० पटक उठबसको सजाय फर्मान, म जाबो निम्छरो त्यही कक्षामा नै भुटुक्कै । २ दिन सम्म हिंड्न पनि नहुने कैची खुट्टामा।

तर एक जना यती मेहनती र मायालु गुरु पनि थिए मेरा त्यही ठाउको पाठशालामा । म फिस्ते दिनहु काठको पाटिमा अङ्गारको कालोले चम्काउदै र भोटो हल्लाउदै जाने उनी १० बजे देखी ४ बजे सम्म त्यही चम चम गर्ने पाटिमा कपुरी क र एक दुई लेख्दै भन्न सिकाउने। जति पटक मेटे पनि लेखिदिने उही खरी ढुङ्गाले। न उन्लाई झ्याउ लाग्ने न रिसाएर सातो जाने गरी सजाय दिने। जस्ले जे नाम र उपनामले बोलए पनि केही नभन्ने। बस आफ्नो इमान्दारिताको कदर होस् या नहोस् तर उनको लागि सबै फिस्ते बराबरी, सबै फिस्ते समान। थिए उनी पद र नोकरीको हिसाबले पियन तर मेरो लागि अब्बल दर्जाको गुरु। त्यही फिस्तेहरु आज संसारभरिका झिलीमिली हेर्दैछन्, पौरख गरेर खान सिकेका छन। तर उनी भने अझै पनि उही पद र उस्तै गरी कपुरी क सिकाउदैछ त्यही ठाउँ र त्यही पाठशालामा । न ढांट्न जानेका छन न झुठ बोल्न। न उनी अरुको मन दुखाउछन् न लप्पनछपन जानेका छन् । गाह्रो सारो पर्दा लौन भने कम्जोर ज्यान नै भए पनि होइन भनेर तार्न जान्दैनन् । सबैका प्रिय, सबैका पिउन (पियन )काका : खिम ब. छन्त्याल र मेरो मनका प्रेमथिएस। प्रबासमा जब जन्मभूमिको याद झन ताजा हुन्छ मनका हरफहरु यसै त्यसै बरालिन्छन। शायद त्यो धुलोले मलाई कहिले फर्किएला भनेर बाटो हेरी बसेको होला। पाखो र पहराले सुसेली हाल्दै बोलाउदो हो। बसन्तको पालुवाले गुरासको फूल सँगै स्वागतमा पर्खिएको होला। कठै म प्रबासी भने ..... । जे जस्तो र जहाँ भए पनि त्यो धुलो माटो त्यो बनपाखा र मेरो प्रमेथियस लाई मुटुभित्रै राखेको छु त्यही दिनको भेट र पर्खाइमा ।(फोटो स्रोत: फेसबुक)

Thursday, February 3, 2011

रन्थनिँदै मञ्चमा पुगेर कोमल ओलीको गलामा


प्रवासको बसाइमा जहाँकहीँ रमाइला, मीठा कुराहरूको अनुभव गर्न पाइँदैन । अधिकांश तीतो र टर्रो । आफ्नै देशमा हुँदा झैँ १० बजे जानै पर्ने कार्यक्रममा ३ बजे उपस्थित भए पनि ‘नो प्रोब्लम’ भन्न पाइँदैन । दिइएको समय भन्दा ५ मिनेट मात्रै ढिला भए पाएको मौका नै गुमाउनु पर्छ । या अर्को पालोको लागि हप्तौं कुर्नु पर्छ । वातावरण जेसुकै होस् तर जुन देशमा जन्मियो त्यो देशको पछुवापन पराइको ठाउँमा नक्कल नगरे नेपाली नै भइँदैन । अरूलाई मात्रै के आरोप लगाउनु ! नक्कल गर्न आजकाल आफैँपनि निकै सिपालु भएको छु । किनकी मैले आफ्नो नेपालीपन देखाउनु छ । अन्यथा नागरिकताबाट नेपाली भन्ने कुरा नै हट्नेछ ।

धेरै पटक निर्धारित समयमा पुग्दा एकलकाँटे र वैरागी काइँलो बन्नु परेको छ । देशबाट हाम्रा माननीय, ख्याति प्राप्त, नेता … आउनु हुने भनेको कार्यक्रममा निर्धारित समय भन्दा ३ घण्टा पछि पुगे बल्ल कार्यक्रम सुरु हुने मेसो चल्छ । त्यसैले पोइल जान नपाकी, राता खुर्सानी खाँदै र खुवाउँदै पाका भ’का जिरे खुर्सानीको कार्यक्रममा पनि संचारकर्मी मित्रले रमझम शुरु भयो भन्ने सन्देश आएपछि पुग्दा बल्ल तातिँदै थियो हल ।

आयोजक नेपालिज डेमोक्रेटिक फोरम (एन डि एफ) । व्यवस्थापक, स्वयंसेवक र सहयोगीपनि एन डि एफ सँग सम्बन्धितनै हुने भए । पोइल जान नपाएर आत्तिएकी कोमल ओली मञ्चमा मात्तिदैं जाँदा २५० अटाउन मिल्ने हल ३५० जनाको भीडले भित्रबाट शौचालय पुग्नु पर्‍यो भने पहलमान नै हुनुपर्ने अवस्था थियो । भुराभुरीहरू पाकेका गोलभेँडा सरह । असिना पसिना नानीका आमाहरू । बाहिर निक्लौं मुन्द्रेको व्यङ्ग्य र ओलीको उत्ताउला गीतको रौनक छुट्ने । नजाउँ भने अधिक भीडले नानीहरू उसिनिएर आपत् । काखमा नानी लिएर उभिनेको हालत झन् बयान गर्नु नै परेन ।

युरोपको राजधानी देश । पाखुरी बजारेर खान रहर या बाध्यताले आएका हामी नेपाली । सिकौं भने यो देशबाट सिक्न सकिने ठेलीका ठेली छन् । तर हाम्रो ध्यान त्यतातिर कहिले जाने ? त्यो कुरा उत्तानो परेका शिवजीलाई नै थाहा होला । कि त उनैसँग वर माग्ने कोमल ओलीलाई । प्राविधिक कारणवश केही त्रुटि भएर कार्यक्रम बिथोलियो भने क्षमता भन्दा बढी हुलेको हल भित्र कस्तो खाले दुर्घटना निम्तिएला भन्ने चेत आयोजकलाई भएन । या चेत भएर पनि अचेत भएको नाटक गरिएको हो ? बुझ्न सकिएन । दुर्घटना निम्ती हाल्यो भने जिम्मेवार को ?

बेल्जियमको नियम कानुन अनुसार क्षमता भन्दा बढी दर्शक एउटै हलमा हुलेर कथं कदाचित् केही परिहाले डामिने को ? भीडले गर्दा हलको तापक्रम निश्चित रूपमा बढ्छ । तर तातो बनाइ राख्ने यन्त्र अधिक गतिमा चलिराखेकै थिए । मानौं आयोजकको काम भित्तामा भैँसी जत्रा अक्षरले लेखिनु मात्रै हो । दर्शक भनेका हल भित्र म: म झैँ उसिनिन आएका दुहुनो भैँसी हुन् । टिकट बेच्ने यूरो गन्दै मख्ख ।

मनोरन्जनात्मक कार्यक्रममा कान तातो बनाउनेको व्यवस्था हुने नै भयो । व्यवस्था नै नभएपनि पानी भन्दा सस्तो बियर जतासुकै उपलब्ध छ । उपलब्ध भएको कुरा सिमा हुन्जेल ठिकै नै हो । तर आफैँले नचिने रंग देखाइहाल्ने । भित्र मुन्द्रेले पुराण लाउँदै गर्दा भित्र बस्ने ठाउँ नपाएर बाहिर रहेका पहलमानहरू भने पाखुरी सुर्का सुर्कीमा व्यस्त । टाइसनको दुरुस्तै फोटोकपी । क्या बात नेपाली टाइसन ! बेल्जियममा पनि ? देशको इज्जत बेल्जियमको बेर्खेम शहरमा पनि जीवित रहेछ ।

रौनक र मनोरञ्जन दिनु रंगिला कलाकारको जिम्मा हो । महिनौं हड्डी घोटेर एक दिन आफ्नै देशका कलाकारहरू सँगै दिल खोलेर हाँस्न, नाच्न र गाउन मन सबैमा हुन्छ । यो भावनालाई कलाकारहरूले राम्ररी बुझेका रहेछन् । आफ्नो क्षमताले भ्याएसम्म दर्शकलाई आफ्नो बनाए ओली र जितु नेपाल ‘मुन्द्रे’ ले । पसिनाको धारा बगाउँदै दर्शक सँगै नाचे । गाए । हँसाए ।

दिल खोलेर हाँस्ने र नाच्नेको भीडमा थिए टि. एस. कामरेड पनि । चिटिक्क भादगाउँले टोपीमा सजिँदै एन डि एफको कुनै पनि कार्यक्रम छुटाउँदैनन् । एकाध वर्ष सोही संगठनको अध्यक्ष पनि । पदको लोभले एन डि एफ नै फुटाउन खोज्नेहरुलाई तह लगाउँदै संगठन बचाउन दिलो ज्यान दिएका हुन् भनेर प्रशंसा गर्नेको कमी पनि छैन । पदबाट नियमसंगत तवरले नयाँ पुस्तालाई हस्तान्तरण गरेको एक वर्ष पनि पुगेको छैन होला । आयोजक एन डि एफको नाटक मञ्चनमा बिचरा कामरेडको नाम समेत अत्तो पत्तो भएन ।

कार्यक्रम लगभग सकिन लाग्दा कलाकारहरूलाई खादा ओढाएर सम्मान गर्नुपर्ने नाटक थियो । उद्घोषकले कलाकारहरूलाई खादा ओढाइदिन के अनुरोध गरेका थिए मञ्च पुरै भरियो । कलाकारको घाँटीमा कुन्नि २,३ खादा झुन्डिए होलान् । अरू सबै आफैं एन डि एफका पहलमानहरू भनाउँदाले भिरे । भिर्ने पहलमानमा वर्तमान एन डि एफ अध्यक्ष पनि सामेल भए । खै कुन्नि कहाँ बाट माइक हात परेछ । एकदमै अभद्र तवरले जाँडको तालमा प्रस्तुत भए । “एनि वे” भन्दा अरू शब्द उनको प्रस्तुतिमा सुनिएन । छेवैमा उभिएकी अधबैँसे दिदीले आफ्ना साथीलाई भन्दै थिइन् -ए बा नि ! .. लाई भन्दा देख्नेलाई लाज पो । के रमिता गरेका हुन् यस्तो ? हलका त्यत्रा दर्शकहरू यसै ट्वाँ परेर हेरिराखेका थिए । ट्वाँ पर्नेहरुकै भीडमा नाम नबोलाइदिँदा कामरेडलाई पनि झोक चलेछ क्यार । रन्थनिँदै मञ्चमा पुगेर ओलीको गलामा खादा भिराइदिए । ओलीले उनको परिचय टि. एस. कामरेड रे भन्नु पर्‍यो । उद्घोषण गर्नेले नचिनेका पनि होइनन् । तर योगदानको कदर गर्नै सक्दैनन् या चाहँदैनन् । बल्खुको दरबारमा नै आत्महत्या गर्नु पर्ने बाध्यतामा टि. एस. कामरेडहरुको पालो पनि धेरै कुर्नु नपर्ला । बिचरा टि. एस. कामरेड !

Thursday, January 27, 2011

विदेशमा जातीय संगठन कति औचित्यपूर्ण ?


“लौ गुरु बेलायत जाम । हाम्रो छन्त्याल जातिको पर्व छार-म्हेङ मनाउन । खाने, बस्ने र आते जाते भाडापनि साथीहरुलेनै व्यवस्था गर्छन् । घुम्नुनी हुन्छ । हैन गुरु जसरीपनि मिलाम” बेल्जियम निवासी मित्र शेरबहादुर छन्त्यालले धेरै पटक हुटहुटी लगाए । अलिकति आफ्नो समुदायको पर्वबारे कलको निब घुमाउला भन्ने आशय त हुँदो हो नै । तर बढि छन्त्याल संस्क्रिति देखाउने मन र ठट्टिँदै बिताम्ला म सित भन्ने भावना हुँदो हो उनको ।

अर्को वर्ष जाने वचन दिएर बल्ल बल्ल चित्त बुझाएँ उनको । तर यो जाति बारे जे जति सुनेँ नेपालमा भन्दा यहीँ आएर बढि सुनेँ । माध्यम उनै छन्त्याल हुन् । नगएपनि मनमा कता कता बिझिरह्यो । अनि त्यो छार म्याङ मनाएपछिका केही दिन मैले खुब नियालेँ तस्विरहरू । कम्ती चुकचुकाइन म । नेपालको अति अल्पसंख्यक जनसंख्या भएको जाति यो । यति सुन्दर पर्व रहेछ । यसलाई व्यापक प्रचार प्रसार गर्नुपर्ने भन्ने लागिरह्यो ।

पछि उनले सुनाए- गुरु नेपालमा बरु कति जातिले आफ्नो संगठन खोलेका छैनन् तर बेल्जियममा त सबै जातिको छ । नामै नसुनिएको जातिकोपनि छ संघ संस्था । भोज भतेरमात्रै खानेदेखि देशकालागि चिन्तन मनन् र यस्तो दुइ चार पैसो लोभ नगरि सहयोग गर्नेपनि । थाह भयो- तिन दर्जन जति त बेल्जियममा मात्रै रहेछन् यस्ता दर्ता गरेका जातीय संघ संस्था । यस्ता संस्था बेल्जियम, बेलायत, पोर्चुगल, जर्मनीलगायत धेरै देशमा प्रशस्तै छन् । शेर्पा, थारू, मगर, गुरुङ, नेवार जातिका आआफ्नै । जिल्ला पिच्छेका उत्ति खुलेका छन् । नेपालीको संख्या जहाँ बढि छ त्यहाँ यस्ता जातीय संघ संस्थापनि बढि खुल्नु स्वाभाविक छ । पछिल्लो समयमा फ्रान्समा पहिलो पटक जातीय संगठन खुलेको छ- तमु समाज ।

फ्रान्समा तमु समाज खुल्नासाथ कतिपय रमाएका छन् । नेपाली नेपाली फुटाउन, जातीय सोचको बीउ रोप्न, भएका संघ संस्थालाई कमजोर बनाउन र केही तमुलाई नेतागिरी गर्न भनेर बुझ्नेपनि छन् कतिपय । केहीले त मलाई सिधै मेल लेखेर तमु समाज गठनको समाचार लेखेकोमा विरोधसम्म गरेका छन् । तरपनि घोत्लिनु पर्छ- विदेशमा यस्ता जातीय संघ संस्थाको कति उपयोगिता छ ? के यस्ता संघ संस्था खोलिनु आफैँमा अति आवश्यक हो ? के हुन सक्छन् यस्ता फाइदा र बेफाइदा ?

यस्ता जातीय संगठन खोलिनु आफैँमा राम्रो र नराम्रो दुबै होइन कि ! त्यो किनभने हामी खसहरूलाई हाम्रा दशैं तिहारलगायतका पर्व मनाउँदा खुशि लाग्छ । त्यसरी मनाउन नपाउँदा मन रुन्छ । आफ्नो भाषामा बोल्न नपाउँदाको पीडा जति हुन्छ, अन्य जातिकापनि हुन्छ नै । बरु यस्ता समाज गठन भए ती एकै ठाउँ भेला हुन्छन् । आफ्नो देशको एउटा जाति विशेषको धर्म, संस्क्रिति, र संस्कारको प्रचारप्रसार हुन्छ । त्यसो गर्दा अन्य जातिले, अरूले संगठित गर्न नसकेकालाईपनि संगठित गर्छन् । विदेशमा अन्य जातिका मानिसलाईपनि उनीहरूको संस्क्रितिबारे बुझ्न सजिलो हुन्छ ।

एकले थुकी सुकी, सयले थुकी नदी भन्छन् । ती संगठित भए भने सामूहिक चिन्तन गर्छन् । विदेशमा प्रचार प्रसार गर्छन् । विदेशी संस्क्रितिमा रमाउनुपर्ने बाध्यतालाई थोरै भएपनि न्यून पार्छ । आफ्ना केटाकेटीहरूलाई आफ्नै संस्क्रितिको पहिचान गराउँछन् । आफ्नो देशको संस्क्रिति र संस्कारमा विदेशमा जन्मे हुर्केका हाम्रा वालवालिकहरुलाई जति अभ्यस्त बनाउन सक्यो ती भविष्यमा उतिनै नेपालप्रति निकट बन्छन् । त्यसो हुनु भनेको अरू कुनै जाति विशेषलाई घाटापर्ने होइन । जुनसुकै जाति भएपनि आखिर ती नेपाली न हुन् सर्वप्रथम त । त्यसले समग्रमा नेपालकै प्रचार प्रसार गर्छ । नेपालकै हित गर्छ । उनीहरू जति बढि संगठित हुन्छन् उति अन्य कार्यक्रममा सहभागिता बढ्छ ।

आखिर गुलाफको फूल जतिसुकै सुन्दर भएपनि गुलाफ नै गुलाफको बगैँचा भन्दा सय थरी फूल मिसिएको फूलवारीलेनै बढि शोभा दिन्छ । तर त्यो फूलबारीमा फूल लगाइसकेपछि सबैलाई समान रूपमा मलजल र गोडमेल गर्ने, एउटा फूलको झ्याँगले अर्कोलाई असर पार्न नदिने काम त फूलवारि बनाउनेको न हो ।

कार्यक्रम त सबै संघ संस्था मिलेर, छलफल र बहस गरेर संयुक्त रूपमापनि त मनाउन सकिन्छ । तमुहरूलाई आफ्नो ल्होसार आफ्नै संस्क्रिति अनुसार मनाउन नपाउँदा, हामी खसहरूलाई दशैं तिहार मनाउन नपाइ हेरेर बस्नु पर्दा, छन्त्यालहरुले छार म्याङ मनाउन नपाउँदा जति पीडा हुन्छ त्यत्तिनै पीडा हुन्छ थारू जातिले आफ्नो माघी मनाउन नपाउँदा । मन सफा राख्ने, आत्मा खुल्ला र सहयोगी बनाए तमुको ल्होसारमा बाहुन र क्षेत्री, नेवार र थारू गएर जसरी नाचगान गर्न हुन्छ तिहारमा तमु र थारूको माघिमा उनीहरू सँगै मिलेर हाँस खेल गर्नपनि कुनै चीजले रोक्दैन । त्यसैले स्वच्छ मनले आफ्नो जातिकोमात्रै होइन सबैको भलो गरौं, मिलेर रमाऊँ, साथ लागेरै केही गरौं भने भावना राख्ने हो यस्ता जातीय संगठनले घाटा गर्दैनन् । हित नै हित हुन्छ ।

तर हामी फलानो जात भनेको हामी नै हौं । हामी आफ्नो पाराले मनाउँछौं अरूले जे गरुन् । हाम्रो संख्या धेरै छ अरू थोरै हुनेले जे सुकै गरुन् । हामी फलानो जातिकोमा अरूलाई किन बोलाउने ? बाहुन क्षेत्री खराब हुन्छन् । नेवार छट्टू हुन्छन् । मतवालीहरू भेडा हुन्छन् भन्ने सीमित जातियतावादीका कुरामा लागेर त्यसै गर्ने हो भने त्यसले पक्कै बिग्रह ल्याउँछ । भएको सद्भाव तोडिन्छ । आफू आफूमै मन मुटाव बढ्छ । एकलकाँटे बनाउँछ । हामी नेपाली होइन जाति विशेष भएर बस्न बाध्य हुन्छौं । विदेशमा संघर्ष गर्नुपर्नाका कठिनाईहरुमाथि झन् वैमनस्यता झ्यांगिन्छ । हाम्रा वालवालिकालेपनि त्यहि सिक्छन् ।

नेपालमा आफ्नो सीमित राजनीतिक, आर्थिक र व्यक्तिगत स्वार्थ पुरा गर्न नेता र हाम्रा राजनीतिक दलहरूले जातीय विग्रहको आगो झोसिदिएका छन् । त्यसरी हरेक जातिलाई फुटाउँदा उनीहरूलाई राज गर्न सजिलो हुन्छ । त्यो संस्क्रिति नभित्रियोस् भन्नेमा जातीय संघ संस्था खोल्ने मित्रहरूले ध्यान दिनैपर्छ । त्यसरी उक्स्याउनेहरु यहीँपनि छँदै छैनन् भन्ने छैन । हुन सक्छन् । त्यसलाई नियन्त्रण र हतोत्साहित गर्ने काम बुझक्किहरुको हो । कुनैपनि जाति विशेष मूर्ख, छट्टू, भेडा र खराब हुन्छन् भन्ने होइन । सबै जातिमा असल र खराब मानिसहरू हुन्छन् । मात्रा फरक त होला नै । त्यसैले जाति विशेषलाई हेरेर होइन कि व्यक्ति विशेषका असल र खराब पक्ष हेरेर संस्था हाँके बिग्रह ल्याउँदैन ।

पेरिसमा पहिलो जातीय संगठन खुलेको छ तमु समाज । तपाइहरूसित दुई विकल्प छन् । एउटा असल भएर, सबैलाई संगठित गरेर, अझ बढि मेलमिलाप देखाएर भविष्यमा अन्य जातीय संगठन खुल्न चाहनेहरुलाई असल बाटो देखाउने । अन्य देशकलाइपनि ‘तमु समाज होस् त पेरिसको जस्तो’ भनेर उदाहरणीय र सिको गर्न लायकको बनाउने ।

अर्को, माथि भनिए झैँ तमुहरू मात्रै आफ्नै पाराले हिँड्ने, अरु जातिकालाइपनि ‘उनीहरूले आफ्नै जातीको संस्था खोलेर फुटाउन खोज्छन्, हामी गुरुङ के कम, हामी सबैभन्दा असल, अरु जातिकालाई हामीले किन पुछ्ने’ भनेर जाति पिच्छे फुट ल्याउने । दश जना भएपनि आआफ्नै जातीय संघ संस्था खोल्ने । आफू आफूमै सीमित रहने । नेपालमा नेताहरूले जाति जातिबिच फुटाएको बीउ यहाँ ल्याएर छर्ने । गुरुङ साथीहरू यो त मेरो स्वच्छ मनले दिएको सुझाव हो, अन्यथा नलिनु होला । भत्काउने की सपार्ने तपाईहरुकै हातमा छ है !!
- ददी सापकोटा, फ्रान्स

Wednesday, March 17, 2010

छन्त्याल जातिको लोपोन्मुख संस्कृति : योगेन्द्रमिलन छन्त्याल, हाल जर्मनी

"नेपाल अधिराज्यभर २१ जिल्लाहरुमा बसोवास गर्दै आएका करिब १३ हजार छन्त्यालहरु पूर्वाधार तथा संभावनाहरुको कमिका कारण राज्यबाट उपेक्षित बन्नुपर्दा त्यत्ति दुखी छैनन् जति दुखी आफ्नो जातिको उत्पत्ति र ईतिहासबारे कुनै प्रमाणिक आधारहरु प्राप्त नभएकोले किंवदन्तीमा मात्र चित्त बुझाउनुपर्दा छन् ।"


"प्रसिद्ध समाजशास्त्री मोहन मल्लका अनुसार तत्कालीन बाइसी चौबिसी राज्यताका कर्णालीको सिन्जाका एक पाल्चन ठकुरीका सन्तानहरु मध्य आपसी झै-झगडाका कारण एकजना मुस्ताङको थाकखोला आई बसोवास गरेकाले थकाली र अर्का बाग्लुङ जिल्लाको ढोरपाटन उपत्यकाको 'छ्यान्टुङ' भन्ने ठाउंमा बसोवास गरेकाले छन्त्याल कहलिएको भन्ने मान्यता बढी विश्वासनीय छ । हामी अझै वास्तविक ईतिहासको खोजीमा लागिरहेका छौ ।" नेपाल छन्त्याल संघका अध्यक्ष मनिचन्द घरब्जा छन्त्याल भन्नुहुन्छ ।

सामान्यत, मगर जातिसंग मिल्ने बनावट, बोली, भाषा, रहनसहन र खानपीन भएका छन्त्यालहरुलाई धेरैले मगर माने पनि उनीहरुको छुट्टै भाषा "खाम" बोल्ने गर्दछन । 'मगरहरु सुँगुरको मासु खान्छन तर छन्त्याल सुँगुरलाई छोयो भने गंगाजलले नुहाउनु पर्दछ । मगर रांगो खान्छ तर छन्त्यालहरु खाँदैनन । मगर र छन्त्यालको खास भिन्नता देखिने उनीहरुको संस्कार नै हुन् । मगरहरु मामाको छोरीसंग विवाह गर्छन् तर छन्त्याल मामा चेली-फुपुचेली दुवैसँग दोहोरो विवाह गर्ने चलन छ । यिनै संस्कारका कारण छन्त्याल मगरभन्दा छुट्टै जाति भएको प्रष्ट हुन्छ ' बाग्लुङ बोंगादोभानका भू. पू. उपाध्यक्ष रेशमबहादुर छन्त्याल बताउंनुहुन्छ ।

'करिब ५ सय वर्षअघि खानी पेशामा लागेका छन्त्यालहरु कालान्तरमा संख्या वृद्धि हुँदै जांदा थुप्रै समूहमा बांडिएर जीवन गुजारा चलाऊन खानी खोज्ने क्रममा बाग्लुङको बोंगाखानी, ढोरखानी, भीरखानी, खुंङ्खानी, लाम्मेलाखानी, घोसाखानी, शिसाखानी, राङ्खानी, लेखानी, हाँडिखानी, पाण्डवखानी म्याग्दीको गुर्जाखानी, छापाखानी, कुइनेखानी, मंगलेखानी, मल्कबाङखानी सुर्खेतको साताखानी रुकुमको बिर्बुङखानी आदी ठाउंमा पुगेको अनुमान गरिन्छ । यी मध्ये केही खानीहरुमा काम गरिरहेकै बेला करिब सय वर्ष पहिले सरकारले चर्को भेजा (सरकारी कर) लगाएछ तैपनि २ - ४ वर्ष जेनतेन भेजा तिर्ने कोशीस गर्दागर्दै हातमुख जोड्नै नसक्ने अवस्था आएपछि भेजा तिर्न वेवास्ता गरेछन् । भेजा तिर्न नसक्दा सरकारी मान्छेहरु खानी खानीमा पुगेर छन्त्यालहरुलाई थेर्का (कडा सजाँय दिन बनाइएको काठ र फलामको साधन) मा कोचेर सजाँय दिएछन । अनि त वाध्य भएर ८०-९० वर्ष यता छन्त्यालहरु कृषि पेशा गर्दै आएका छन् ।' ललितपुर निवासी छन्त्याल संघका भू.पू. कोषाध्यक्ष ज्यानदेवी घरब्जा छन्त्याल बताउंनुहुन्छ ।

आफ्नै गाउं वस्तीमा उत्पादन हुने हार्डुला ( भेडाको ऊनबाट हातैले बुनेको एक प्रकारको ज्याकेट), दोचा, भाङ्ग्रा, मजेत्रो, लगायत गुन्यूचोली, टेखी, खाडी, धोरो (साफा, फेटा) मा सजिएर रमाउने छन्त्याल पुर्खाको भेषभूषा र जीवनशैलीलाई आधुनिकताको खोल ओढेको पाश्चात्य संस्कृतिले पूरै मात्रामा विस्थापन गर्न लागेको अवस्थामा छ । दशै, तिहार, माघे संक्रान्ति, फागु पूर्णिमा, नयाँ वर्ष, साउने संक्रान्तिजस्ता चाडपर्वमा पुराना स्वादहरु गुम्दैछन ।

मादल, मुर्चुङगा, डम्फु, घण्ट, झ्यालीका धुनसँगै घन्किने खेली, ठाडो, चुट्के र लालै भाकाहरुकाबारे ओछयानमा थला परेका बुढापाकाहरुसँग मात्र बुझ्न सकिन्छ त्यो पनि संस्मरण स्वरुप । लाग्छ, अब खेली र चुट्के भाकाका ती हलुका ज्यान बनाएर फुरुंग हुँदै नाचेको देख्ने जमाना फर्कदैनन होला । पहिलो सन्तानको रुपमा छोरा जन्मिदा पुट्पुराउका सरस्वती र खेली नाच पनि ओझेल पर्दैछन । भात खुवाइ (पास्नी), छेवर (चुडाकर्म), गुन्यूचोली र वैवाहिक संस्कारले पनि रुढीवादी संज्ञा पाउंदैछन् । अन्त्येष्टी संस्कारमा पनि छन्त्यालहरुको वस्तीपिच्छे समानता पाइदैन । लगभग ३ हजारले बोल्ने छन्त्याल भाषा (खाम) को अस्तित्व बोकेका ठाउंहरु मानिने म्याग्दीका गुर्जाखानी, कुइने, मंगले, मल्कबाङ र गुल्मीको भार्सेबाट बिस्तारै लोप हुँदै गएको छ । वि. सं. २०४० साल पहिले भारतीय र ब्रिटिश सेनामा भर्ती हुन मगरहरुको पुन, थापा, बुढा, राणा आदि थर लेखाउनुपर्ने बाध्यतामा परेका नयाँ युगका केही छन्त्यालहरु आफ्नो जातीय पहिचान लुकाएको पाईन्छ । जातीय संस्कृतिमा विचलन आएर थकाली र मगरसँग सोलीडोली चलाउंने र आफ्नो रीतिरीवाज र धर्म संस्कृतिमा फेरबदल गरेका पनि छन् केही छन्त्यालहरु ।

त्यसो त छन्त्यालहरुमा आफ्नो भाषा, संस्कृति र जातीय उत्थानका लागि चिन्ता नभएको होइन । वि. सं. २०४३ सालमा दिलबहादुर घरब्जा छन्त्यालको नेतृत्वमा जातीय भलाई र उत्थान गर्न भनी 'छन्त्याल परिवार संघ' को स्थापना भएको थियो । यसले २०४९ असार २९ गते विधिवत संस्थाको मान्यता पाएको थियो । वि. सं. २०५२ मा प्रथम राष्ट्रिय महाधिवेशनको नेतृत्व परिवर्तन सँगसगै यस संघको नाम "नेपाल छन्त्याल संघ" मा परिवर्तन गरियो । यस संघबाट पुस्तिकाहरु प्रकाशन, जातीय संस्कार, स्मारिका २०५४ प्रकाशन र कार्यान्वयनका लागि निर्देशन, जातीय कार्यकलापहरु आदि कार्यहरु संचालन गरेको पाईन्छ।

उमेर खाएका व्यक्तिहरु मात्र होइन छन्त्याल युवायुवतीहरुलाई पनि आफ्नी भेषभूषा, साँस्कृतिक चाडपर्व र संस्कारप्रति उत्तिकै चासो र माया छ । लोकदीप आवासिय मा. वि. बेनी कक्षा १० मा अध्ययनरत छात्रा कुमारी छन्त्याल विद्यालयको पोशाकभन्दा गुन्यूचोली लगाउन मन पराउने बताउंनुहुन्छ ।

दशौ राष्ट्रिय जनगणना २०५८ पहिले तथ्यांकमा नदेखिएका छन्त्यालहरुको त्यस जनगणनामा ९ हजार ८ सय १४ जनसंख्या देखिएको छ । तर संघका सर्वमान्य संस्थापक दिलबहादुर छन्त्याल यो तथ्यांकमा असहमत प्रकट गर्दै भन्नु हुन्छ - "हामीले २०५५ साल पहिले गरेको जनसंख्या विवरणमा ५ हजार ६७ महिला र ५ हजार ४ सय ५४ पुरुष गरी कुल १० हजार ५ से २१ तथ्यांक तयार पारेका थियौं । तथ्यांक विभागले त्यो संख्या घटाइदिनु दु:खलाग्दो कुरो हो ।"

हालसम्म छन्त्यालका उल्लेख भएका विभिन्न थरहरु भलंजा, बुढाथोकी, डांडामारे, घरब्जा, घर्ती, घ्याप्चन, झिङराजा, खड्का, पोट्लाङ्गे, पुराने, सिङे, तथप्जा छन् । केही थरका उपथर पनि छन् तर अझै झिङनेल थर लगायतका छन्त्यालहरुले आफ्नो थर केन्द्रिय तथ्यांकमा नसमेटिएको गुनासो गरेको पनि पाईन्छ । छन्त्यालहरुको आफ्नो पूर्वजहरुले खानी निकालेको अति विकट, दुर्गम र हिमाली वस्तीहरुमा बस्दै आएको पाईन्छ र यिनीहरु बसोवास गर्ने ठाउँको नाम पछाडि 'खानी' भन्ने शब्द जोडिएको पाईन्छ । अधिकांश निम्न आर्थिक स्तर भएका छन्त्यालहरुको विकट वस्तीहरुमा न त सरकारी सुविधाहरु पुगेका छन् न त सरकारको उपस्थिति नै छ ।

मुलुकमा साधरण नागरिकको रुपमा समेत परिचित हुन नसकिरहेका छन्त्याल जातिकोबारेमा विदेशीहरुले समेत चासो लिएर अध्ययन अनुसन्धान गरेको पाईन्छ । अमेरिकाको युनिभर्सिटी अफ विस्कान्सिस मिल्वाउकीका प्रोफेसेर डा. माइकल नुना र डा. विलियमा वाग्लीमा समेतले विधावारिधीका लागि छन्त्याल भाषा र संस्कृतिको खोज तथा अनुसन्धान गरी पुस्तक प्रकाशन गरेका छन् ।

नेपालकै दुर्लभ र अल्पसंख्यक जातिको रुपमा चिनिने छन्त्याल जातिको सम्बन्धमा संचार माध्यमहरुले पनि खासै चासो र ध्यान नदिएको गुनासो नीशा छन्त्यालको छ । उहाँ भन्नुहुन्छ - "दिनानुदिन टेलिभिजन र रेडियोमा विदेशी गीत संगित घन्किरहन्छन, किसिम किसिमका फेशनहरुको प्रचार गरिन्छ तर आफ्नै देशको मौलिक संस्कृति बोकेको छन्त्याललाई उपेक्षा गरिन्छ। यो साह्रै दु:खको कुरा हो ।"

बाग्लुङ जिल्ला क्षेत्र नं ३ का निवर्तमान सांसद परी थापा छन्त्याल भन्नुहुन्छ- "शिक्षामा पिछ्डिएकोले नै छन्त्यालहरु सबै क्षेत्रमा पछाडि पर्नु परेको हो । सरकार र राज्य संयन्त्रको नेतृत्व 'उच्च र कठित जातिहरु' मा मात्र सीमित छ । राजनीतिक पार्टी र संघसंस्थाहरुमा पनि उच्च जातिका मानिसहरुको नै हालिमुहाली र आधिपत्य रहेको छ । विकट गाउंमा बस्ने छन्त्यालहरुको बारेमा सोच्नुपर्ने आवश्यकता नै ठान्दैनन सरकार र राजनीतिक पार्टीहरु ।"

राज्यका साधन स्रोत र सुविधाहरुदेखि कोशौ टाढा र विकट गाउंहरुमा अभावग्रस्त जीवन बिताइरहेका छन्त्यालहरु अस्वभाविक राजनीतिक किचलो देखी वाक्क छन् । उनीहरु भन्छन - "सरकारले हाम्रो लागि केही गर्ला भन्ने हामीलाई आशै छैन । देशमा शान्ति भइदिए कमसेकम आफ्नो संस्कृति जोगाउनका लागि केही प्रयास गर्दै शान्तिपूर्वक बाँच्न त पाइन्थ्यो ।"

(यो लेख गोरखापत्र संस्थानको मासिक पत्रीका "युवामन्च", हिमालय टाइम्स दैनिक, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, म्याग्दी सन्देश साप्ताहिक, जनजाति सन्देश लगायतका पत्रिकाहरुमा समेत प्रकाशन भएको थियो । हाल उहाँले जर्मनीबाट चेतनामूलक रेडियो कार्यक्रम "हाम्रो चाहना" संचालन गरिरहनु भएको छ । ब्लगमा लेख साभार गर्ने अनुमति दिनु भएकोमा लेखकलाई बिशेष धन्यबाद ब्यक्त गर्दछु।)